विद्यालयहरुमा प्राथमिक उपचार , प्रजनन स्वास्थ र रजस्वलासम्बन्धि ६ दिने जनचेतना अभियान सन्चालन - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

विद्यालयहरुमा प्राथमिक उपचार , प्रजनन स्वास्थ र रजस्वलासम्बन्धि ६ दिने जनचेतना अभियान सन्चालन

Share This

 
रङ्गेलीमा धरानको बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब अफ धरान घोपा , रङ्गेली अस्पताल , बिराटनगर लेडिज सर्कल ५ , बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ र इप्का लेब्स लगायतका संस्थाहरुको संयुक्त अगुवाइमा बुधबारदेखि विभिन्न स्थानमा ६ दिने प्राथमिक उपचार , प्रजनन स्वास्थ र रजस्वलासम्बन्धि जनचेतना अभियान संचालन भएको हो ।
आज अन्तिम दिनको कार्यक्रममा श्री मकालू एकेडेमीमा अध्ययनरत कक्षा ५ , ६ , ७ , ८ , ९ र १० का १७० जना विद्यार्थीहरु सहभागी रहेको जानकारी विद्यालयका प्रधानाध्यापक भक्त राज सुब्बाले गराए । यस अघिका पाँचदिनमा रङ्गेलीका श्री मिनिलेन्ड एकेडेमी , श्री भानु एकेडेमी , श्री पब्लिक मा. वि. , श्री महालक्ष्मी मा. वि. , श्री रत्ना मा. वि. , श्री जनता मा. वि. र श्री पार्वती मा. वि. का १३९० जना विद्यार्थीहरु सो सचेतना कक्षामा सहभागी भएका थिए । यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुमा निकै चेतना अभिवृद्धि भएको विद्यार्थीहरुकै प्रतिक्रिया थियो । विद्यार्थीहरुले उत्सुकता पूर्वक चासो लिएको र विद्यालयहरुबाट यस्तो उत्साहजनक प्रतिक्रिया आएकाले आफुहरु पनि निकै खुशी भएको बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ का अध्यक्ष डा. बिमल अग्रवाल र बिराटनगर लेडिज सर्कल ५ की अध्यक्ष डा. कोपिला अग्रवालले बताए । आज अन्तिम दिनको कार्यक्रममा स्थानीय बजरङ्ग अग्रवालले प्रशिक्षक शुभम कुमार अग्रवाललाई दोसल्ला ओढाएर सम्मान गर्दै रङ्गेलीबासीकोतर्फबाट धन्यवाद दिएका थिए ।
" प्राथमिक उपचार पद्धति सिक्न सबै जुटौ, कोही नछुटौ " भन्ने नाराकासाथ ६ दिने प्राथमिक उपचार तालिम अभियान बुधबारदेखि सुरु भएको प्राध्यापक श्याम न्यौपानेले बताए । धरानको बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा एम. बि. बि. एस. तेस्रो बर्षमा अध्ययनरत रोटर्याक्टर शुभम कुमार अग्रवालले प्राथमिक उपचार तालिम दिएका थिए । उनका अनुसार प्राथमिक उपचारबारे तालिमले दुर्घटनामा मृत्यु
हुनेको संख्या न्युनिकरणमा निकै ठुलो सहयोग गर्नेछ । सो कार्यक्रममा पानीमा डुबिरहेको , कुकुरको टोकाइ , सर्प टोकाइ , हाथ खुट्टा भाचिएका , नाकबाट रगत बगिरहेको , बिसाधी सेवन , ब्लिडिन्ग आदिजस्ता अवस्थाहरुमा कसरी प्राथमिक उपचार गर्ने र ज्यान कसरी बचाउन सकिन्छ भन्ने तालिम विद्यार्थीहरुलाई प्रतिष्ठानमा एम. बि. बि. एस. अध्यनरत रोटर्याक्टर शुभम कुमार अग्रवालले दिएका थिए ।
किशोरी अवस्थामा महिलाहरुमा हुने रजस्वलाबारे भ्रामक कुराहरुबाट विद्यालयका छात्राहरुलाई मुक्त गराउँदै शारिरिक परिवर्तनबारे सचेत बनाउने उद्देश्यकासाथ २८ दिनमा महिनावारी भएन भने स्वास्थ चौकी जाउँ,  महिनावारी हुदा सरसफाईलाई ध्यान दिउँ , महिनावारी प्राकृतिक कुरा हो कुनै पाप होइन र रजस्वला भएका महिलालाई छिछि दुरदुर होइन माया गरौ जस्ता अनेक सन्देश सहित विद्यार्थीहरुलाई रजस्वला सम्बन्धि सचेतना दिएको जानकारी रङ्गेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम देबले दिए । यस बाहेक जिल्लाभर सचेतना कार्यक्रम , र्याली लगायतका कार्यक्रमहरु आयोजना गरिएको जानकारी डा. अस्मिता राणा र इप्का लेब्सका बिजनेस अफिसर रोशन साहले दिए ।
बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानबाट रङ्गेलीमा विभिन्न स्वास्थ सम्बन्धित शोधकार्यकालागि आएका एम. बि. बि. एस. तेस्रो बर्षका विद्यार्थीहरुले आफ्नो ब्यस्तताका बावजुद यस्ता नि:शुल्क सचेतना  अभियान चलाइरहेकोमा आफूहरु निकै खुशी भएको प्रतिष्ठानका प्राध्यापक डा. अरुन कुमार सिंह , डा. दिपक कुमार यादव , डा. रामबिलक्षन साह , डा. राजेन्द्र कार्की, डा. विजय खनाल , डा. श्याम सुन्दर बुडाथोकी र डा. कमलेश यादवले बताए ।
प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले स्थापना गरेको रोटर्‍याकट क्लब अफ धरान घोपाले रक्तदान कार्यक्रमहरु , विद्यालयहरुमा नि:शुल्क "पुनर्जीवन" प्राथमिक उपचार तालिम , नि:शुल्क प्रौढ शिक्षा कार्यक्रमहरु , जनचेतना मुलक सडक नाटकहरु , सडक बालबालिकाहरुको नि:शुल्क स्वास्थ जाँच शिविरहरु , अनाथ आश्रम र वृद्धिआश्रममा जाडोका लुगाहरु वितरण , हरेक दुई हप्तामा रेडियो कार्यक्रम " रोटर्‍याकट स्वास्थ दर्पण " प्रसारण , दुर्गम ठाउहरुमा नि:शुल्क स्वास्थ शिविरहरु, पिण्डेश्वर बाबाधामका श्रद्धालु भक्तजनहरुकालागि नि:शुल्क स्वास्थ्य शिविर तथा विविध शिक्षा र स्वास्थसंग सम्बन्धित कार्यक्रम आयोजना गर्दै आएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages