एक कट्ठा जमीनमा तयार गरिएको हाइटेक नर्सरी - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

एक कट्ठा जमीनमा तयार गरिएको हाइटेक नर्सरी

Share This
विसं २०६९ मा विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले मेचीनगरमै पहिलो पटक एक कट्ठा जग्गामा सो नर्सरी तयार गरेका हुन् । उप्रेतीले डिएन्डडी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफूलको नर्सरी व्यवसाय गर्दै आएका छन् ।

खेतीलाई अत्याधुनिक र व्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भर्खरै नर्सरी तयार गरिएको सञ्चालक उप्रेतीले बताए । कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको नर्सरी निर्माणमा करीब रु १२ लाख खर्च भएको छ । त्यसमध्ये जिल्ला कृषि विकास कार्यालय झापामार्फत रु नौ लाखसरकारी अनुदान प्राप्त भएको र बायोप्लानटेकको करीब रु तीन लाख लागत सहभागिता रहेको उप्रेतीले बताए ।

एक कट्ठा जमीनमा तयार गरिएको हाइटेक नर्सरी पूर्णरुपमा वातानुकूलित छ । नर्सरीभित्र वर्षैभरी खेती गर्न सकिने छ । दुई सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेल घाम छिर्ने तर पानी नछिर्ने र नच्यातिने बनाइएको छ । नर्सरीभित्रै थोपा सिँचाइ तथा विशेष प्रकारले व्यवस्थापन गरेर टनेलको छतबाट पानी छरी चिसोपन कायम राख्ने व्यवस्था गरिएको छ ।

बिरुवामा रोगकीरा लाग्न नदिनका लागि हावापानी आउँदा समेत असर नगर्ने र लेउ नलाग्ने व्यवस्था गरिएको छ । बाहिरबाट कुनै हानिकारक जीवाणु प्रवेश नगरोस् भन्नाका लागि नर्सरीमा दुई ढोकाको व्यवस्था गरिएको छ ।

दश वर्षसम्म प्रयोग गर्न सकिने उक्त नर्सरीको जमीनसँग जोडिएको भागमा विशेष प्रकारको एप्रोन जडान गरिएको छ जसले बिरुवालाई चाहिनेभन्दा बढी उत्पादन भएको कार्बन डाइअक्साइड र नाइट्रोजन नियन्त्रण गर्ने उप्रेतीले जानकारी दिए ।

पूर्णरुपमा जैविक खेती प्रणाली अपनाउनु भएका उप्रेतीले आफूलाई आवश्यक पर्ने प्राङ्गारिक मल आफैँ उत्पादन गर्छन् । उत्पादन हुने गड्यौले मल स्थानीयवासी किसानलाई समेत बिक्री गर्दै आएको उप्रेतीको भनाइ छ ।

व्यावसायिक खेती विस्तार गर्न जमीन अपुग भएकाले मेचीनगर–९ का डिल्ली न्यौपानेको एक बिघा र मेचीनगर–१० का दाताराम खनालको पाँच बिघचा जमीन भाडामा लिएर यसै वर्षदेखि उहाँले कागती, मेवा र तरकारी खेती शुरु गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाशकुमार खत्रीले झापामा आठ संस्थालाई उच्चप्रविधियुक्त नर्सरी, फलफूल तथा तरकारी खेतीका लागि सरकारले ७५ प्रतिशत अनुदान दिएको बताए । उनका अनुसार भद्रपुर नगरपालिका–२ को एदन नर्सरी, वडा नं ८ को उदेश नर्सरी, अर्जुनधारा–८ को वैदिक एग्रो प्लान्टेड, मेचीनगर–९ को आइपिएम समाज झापा, बुद्धशान्ति गाउँपालिका–६ को शान्तिनगर कृषि सहकारी, शिवतासक्षी–२ का ताराप्रसाद गौतम र बिर्तामोड नगरपालिका–२ का राजेन्द्र कडरियालाई सो अनुदान प्रदान गरिएको छ ।

किसानलाई उत्साहित बनाउने उद्देश्यले झापामा पहिलो पटक शुरु भएको उच्च प्रविधियुक्त व्यवसायमध्ये उप्रेतीले सञ्चालनमा ल्याएको नर्सरी नमूनाकै रुपमा तयार भइसकेको कार्यालयका प्रमुख खत्रीले बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages